सरकारबाट समाजवादी पार्टी बाहिरियो

काठमाडौं, ८ पुस । संविधान संशोधनको मागसहित सरकारमा सामेल भएको सत्ता-सहयात्री संघीय समाजवादी पार्टीले सरकार छाडेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।

उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । सरकारमा सहभागी हुँदा समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो ।

सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने निर्णय गरिएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पेस गरिएको राजीनामा पत्रमा यादवले आफू नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच २०७५ जेठ १४ गते भएको दुई बुँदे सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।

‘संविधान संशोधनलगायत हामीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरू सम्बोधन गर्ने शर्तसहित दुईबुँदे सहमतिका आधारमा मात्र हाम्रो पार्टी सरकारमा सामेल भएको व्यहोरा अवगतै छ। यसै सदन्र्भमा हामीले मन्त्रिपरिषद् बैठक तथा संसद्मा पटक–पटक यी विषयहरू प्रवेश गराउनुका साथै संविधान संशोधनलगायतका विषयहरू राखी प्रधानमन्त्रीसमक्ष स्मरणपत्र पनि दिएका थियौं,’ यादवको राजीनामापत्रमा उल्लेख छ,

‘यसैक्रममा पुस ७ गतेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरू सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतमा मैले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फि रूपमा तोडेको प्रस्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here