हेम बहादुर मल्ल सम्मान कुलमान र सुन्दुकलाई

काठमाडौं, ८ पुस । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले प्रदान गर्ने हेम बहादुर मल्ल सम्मानबाट नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र वरिष्ठ नेत्र चिकित्सक सुन्दुक रुईत सम्मानित हुने भएका छन् ।

उनीहरु क्रमश: हेम बहादुर मल्ल सम्मान २०७३ र २०७४ बाट सम्मानित हुन लागेका हुन । घिसिङ र रुईत आगामी पुस ११ गते आयोजना हुने सम्मान समर्पण कार्यक्रम माझ उपराष्टपति नन्द बहादुर पुनबाट विभुषित हुनेछन् ।

कर्पोरेशनको केन्द्रिय कार्यालयमा संघ र कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि सम्मान कार्यक्रम बारे जानकारी गराईएको हो । कार्यक्रम माझ बोल्दै पुरस्कार छनौट समितिका संयोजक समेत रहेका प्रमुख सुचना आयुत्त कृष्णहरि बाँस्कोटाले सम्मानित हुने व्यक्तित्वहरुमा जनही दुई -दुई लाख रूपैया राशीको पुरस्कार अर्पण गरिने जानकारी दिए ।

सोही अवसर माझ प्रमुख सुचना आयुक्त बास्कोटाले हेम बहादुर मल्ल एक कुशल प्रशासक रहेको स्मरण गर्दै असल र राम्रा कामलाई प्रोत्साहन दिने उदेश्यका साथ बि.स. २०५९ साल देखी कर्पोरेशनको प्रायोजनमा हेम बहादुर मल्ल सम्मान प्रदान गर्न थालिएको बताए ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले हेम बहादुर मल्लको योगदानको चर्चा गर्दै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको विकास र सेवा विस्तारमा उनको ठुलो देन रहेको स्मरण समेत गरे ।

त्यसैगरि पानका कार्यवाहक अध्यक्ष डा। हिरामणि घिमिरेले नेपालको जनप्रशासन क्षेत्रलाई ब्यवस्थित तुल्याउन प्राज्ञिक ब्यक्तिहरुको ज्ञान र राष्ट्र सेवकको अनुभवलाई समेट्दै समुन्नत नेपाल निर्माणमा पानले जोड दिदै आएको र यस्ता सम्मान कार्यक्रमले प्रशासनको क्षेत्रमा टेवा पुग्ने दाबी पेश गरे ।

कार्यक्रममा पानका महासचिव रामशरण चिमोरियाले सम्मान कार्यक्रमको उपदेयता बारे प्रकाश पार्दै कार्यक्रमको महत्वलाई उजागर गर्न संचार जगतको भूमिका अहम् रहने धारणा राखेका थिए । सोही अवसर माझ पत्रकारहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले हेम बहादुर मल्ल सम्मानले नेपालको प्रशासन क्षेत्र उत्साहित बन्दै जानेमा आफू आशावादी रहेको उल्लेख गर्दै कर्पोरेशनले नेपाल सरकारको निर्देशन र आम जनताको इच्छा एवम् चाहना मुताविक सेवा विविधिकरणमा जोड दिदै आएको बताईन् ।

कार्यक्रम माझ कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राज भण्डारीले साल्ट ट्रेडिङले विगत देखी बर्तमानसम्म आईपुग्दा गर्दै आएको कार्यहरुका बिषयमा जानकारी गराउदै कर्पोरेशनले आयोडिनयुक्त नुनको सहज आपुर्ती ब्यवस्थापन, सचेतनामुलक कार्यक्रम, रसायनिक मलको आपुर्ती, चिनी, तेल लगायतका अन्य अत्यावश्यकिय वस्तुको कारोबार, सामाजिक उत्तरदायित्व वहन लगायतको बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका संचालक समिति सदस्य एवम उच्च अधिकारीहरु, पानका पदाधिकारी एवम सदस्य, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here