धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस, कस्ले मार्ला बाजी?

काठमाडौं, १४ पुस । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । पाँच जनाबाट अध्यक्ष छनोटका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको हो ।

अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । बोर्डको अध्यक्षका लागि नीरज गिरी, भीष्मराज ढुंगाना र डा. केशवप्रसाद श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा बनेको समितिले बोर्ड अध्यक्षका लागि प्राप्त ८ जनाको आवेदनबाट शर्ट लिस्ट गरी ५ जनालाई अन्तरवार्तामा बोलाएको थियो ।

त्यसमध्ये सीताराम थपलिया अन्तर्वार्ता मै गएनन् भने डा. नवराज अधिकारी भने छनोट हुन सकेनन् ।

शर्ट लिस्टमा बोर्डका कार्यकारी निर्देशक गिरी, निमित्त कार्यकारी निर्देशक डा. अधिकारी, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख थपलिया, राष्ट्रिय बिमा कम्पनीका पूर्वसञ्चालक डा. श्रेष्ठ र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुङ्गाना परेका थिए ।

सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको नाम चयन गरेको थियो ।

समितिको सदस्यमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन्।

तीन व्यक्तिको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने छन् । मन्त्रिपरिषदले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्ति दिनेछ ।

सेयर बजारको नियमन गनै निकाय नेपाल धितोपत्र बोर्ड साढे २ महिनादेखि नेतृत्वबिहीन छ। बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पदमा नयाँ व्यक्ति नियुक्तीमा अहिलेसम्म अलमल हुँदै आएको छ।

लामो समयमा अध्यक्ष नहुँदा त्यसको असर पुँजी बजारमा देखिएको भन्दै तुरुन्त नियुक्ति गर्न दबाब दिन थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here