यसरी मनाइयो टोपी दिवस

काठमाडौं, १६ पुस । जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ ।

बुधवार राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् ।

यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई पनि साथ दिएको छ । यसैक्रममा कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली टोपी दिवस बनाउनु पर्नाको कारण र टोपीको महत्वका बारेमा संस्थाका संस्थापक रामजी बलामी र सचिव ज्ञानमणि नेपाल कालोटोपीले प्रष्ट पारेका थिए ।

कार्यक्रममा उपस्थित संचारकर्मी सम्झना पौडेलले राष्ट्रिय पोशाक हटाउने सरकारको निर्णय सच्याएर नेपाली पहिरनको सम्मान गर्नु पर्ने बताइन् । यस्तै संस्थाका उपाध्यक्ष जर्नाजन पौडेलले अभियानको सार्थकता र महत्वका बारेमा बताएका थिए ।

अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा सबै उमेर समूहका साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ । अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।

संस्थाले यो वर्ष नेपाल सरकारको नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाएको पनि उनले जानकारी दिए । जागरुक युवा अभियान नेपालले यसवर्षको टोपी दिवसको नारा भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार राखेको थियो । गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here