नेपाल टेलिकमको ४५ प्रतिशत लाभांश पारित, लगानीका क्षेत्र विस्तार गरिंदै

काठमाडौं, २९ पुस । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले ४५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव मंगलबार सम्पन्न साधारण सभाले अनुमोदन गरेको हो ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तको वासलातको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको हो ।

सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउँदैछन् ।

टेलिकमले अब कम्पनीमा मौज्दात रहेको ठूलो रकम बैंक तथा वित्तीय कम्पनी, पुँजी बजार वा अन्य कम्पनीको सेयरमा लगानी गर्ने भएको छ । यसैगरी, यस्तो रकम आवश्यकता अनुसार ऋण लगानी गर्ने तयारी पनि गरिएको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६/७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन पेश गर्दै उनले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले गत आर्थिक वर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरुबारे जानकारी गराए ।

मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको जानकारी दिए ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको उनको भनाई थियो । अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी दिए ।

गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here