निजगढ विमानस्थल निर्माणको लागि जुरिचसँग प्रस्ताव माग

काठमाडौं, ३ माघ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले गति लिने भएको छ ।

पहिलो चरणमा एक लाख २० हजार रुख काट्ने विषयलाई लिएर रोकिएको विमानस्थल निर्माणको लागि लगानी बोर्डले सार्वजनिक रुपमा प्रस्ताव माग गरेसँगै निर्माणले गति लिएको हो ।

लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै शुक्रवार सूचना प्रकाशित गरेको छ ।

सार्वजनिक सूचनामा कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न आब्हान गरिएको छ ।

यो प्रस्तावमा बोर्डले फागुन ४ गते छलफल गर्नेछ । ०५०/ ५१ सालबाटै सुरु भएको निजगढ विमानस्थल चर्चा अहिलेसम्म चर्चामै सीमित छ ।

नेपाल सरकारले २०७५ चैत १५ र १६ मा आयोजना गरेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

उक्त आह्वान अनुसार निजगढ विमानस्थल निर्माणका लागि चीन, भारत, नेपाल र फ्रान्सका अन्य ६ कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

३ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको विमानस्थल निर्माणका लागि जुरिचका अलवा नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजले पनि आसय पत्र बुझाएको थियो ।

त्यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सनले पनि आसय पत्र बुझाएका थिए । आसयपत्र बुझाएका कम्पनीमध्ये जुरिच इन्टरनेशनल मात्रै अन्तिम छनौटमा परेको थियो ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा २०७६ असोज ५ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनौट गरेको थियो ।

हाल निजगढ विमानस्थल निर्माणका लागि रुख कटान गर्ने सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । सरकारले निजगढमा विमानस्थल बनाउने योजना बनाएदेखि नै वातावरणविद्लगायतले ठूलो संख्यामा रूख काटिने र वन्यजन्तुलाई समेत असर गर्ने भन्दै विरोध गर्दै आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास मंसिरभित्रै गर्ने घोषणा गरेका थिए। माघ लागिसक्दा पनि शिलान्यास हुन नसकेको निजगढ विमानस्थलको काम सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अन्यौलमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here