नेपाली सिमेण्टले ४३ र ५३ ग्रेड पाउने, भारत निर्यात सहज हुँदै

फाइलफोटो

काठमाडौं, ४ माघ । नेपाली सिमेण्टलाई ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण दिइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हालसम्म नेपाली सिमेण्टले नेपाल गुणस्तर चिन्ह र ३३ ग्रेडको गुणस्तर प्रमाण पाउँदै आएकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले नयाँ गुणस्तर दिने निर्णय गरेको विभागले बताएको छ ।

विभागले नयाँ गुणस्तका लागि चाहिने मापदण्डको विकास गरिसकेको छ । हालका लागि उद्योगहरुले स्वेच्छिकरुपमा नयाँ गुणस्तरमा जानसक्ने छन् भने केही महिनामै राजपत्रमा प्रकाशित गरेर यसलाई अनिवार्य गरिने छ ।

४३ र ५३ ग्रेडको सिमेण्ट नेपालमा नहुँदा कतिपय निर्माणका लागि सो गुणस्तरको उत्पादन विदेशबाट आयात गर्नु पर्ने अवस्था थियो । त्यसैगरी, नेपाली सिमेण्ट उत्पादकहरुले पनि आफ्ना उत्पादन विदेशमा निर्यात गर्न सकिरहेका थिएनन् ।
तर नयाँ ग्रेडको गुणस्तर तोकिएपछि भारतमा तत्कालै सिमेण्ट निर्यातको संभावना बढेको छ । यसले निर्यात सहज हुने छ ।

भारतका सीमावर्ती राज्यहरुमा सिमेण्टको ठूलो बजार भए पनि ग्रेडिङको अभावमा निर्यात गर्न नसकिएका सिमेण्ट उत्पादक संघको भनाइ छ । भारत निर्यातलाई नै लक्षित गरेर धेरै सिमेण्ट उद्योगहरु सीमाक्षेत्रमा स्थापना गरिएका छन् ।

सरकारको नयाँ निर्णयले उद्योग र मुलुक दुवैलाई फाइदा पुग्ने उद्योगीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here