डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुनः काममा फर्किए

काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नियमित काममा फर्किएका छन् । सरकारले निर्दोष ठहर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेसँगै ७७ दिनपछि श्रेष्ठ पुनः कार्यालय फर्किएका हुन् ।

सरकारबाट सफाई पाएपछि अर्थमन्त्रालयबाट आइतबार पुनः पदबहालीका लागि पत्र बुझेका श्रेष्ठले सोमबार कार्यालय खुल्ने बित्तिकै पुनः पदबहाली गरेका हुन् ।

डेपुटी गभर्नर श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए । श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो ।

उनले आफूमाथि लागेको सबै आरोप झूठो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेका थिए। सरकारी निर्देशनमा गठित छानबिन समितिले दोषी किटान गर्दै प्रतिवेदन पेस गरेको थियो । लगत्तै सरकारले श्रेष्ठसँग प्रस्टीकरण सोधेको थियो ।

सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुल बास्कोटाले माघ २ गते मन्त्री परिषद्ले उनलाई सफाई दिएको सूचना सार्वजनिक गरेका थिए । अर्थ मन्त्रालयले बुझाएको प्रतिवेदनअनुसार बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारण नदेखिएको भन्दै मन्त्रिपरिषद्ले पुनर्बहाली गर्ने निर्णय गरेको थियो । श्रेष्ठ २०७२ सालमा डेपुटी गभर्नर भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here