नेपालमा कति छन् ठूला उद्योग ? उत्पादनमूलक क्षेत्रका सबैभन्दा धेरै

काठमाडौं, ६ माघ । नेपालमा ठूला उद्योगहरुको संख्या साढे ११ सय पुगेको छ । उद्योग विभागको विवरण अनुसार आर्थिक वर्ष ०७५/७६ सम्म नेपालभर १ हजार १ सय ४९ वटा ठूला उद्योगहरु दर्ता भएका छन् ।

देशभरका सबै भू —भागमा, विभिन्न आठ वटा क्षेत्रमा यी उद्योगहरु दर्ता भएका हुन् । औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योगलाई लिइन्छ ।

उत्पादनमूलक क्षेत्रमा मात्रै ४ सय २९ ठूला उद्योग दर्ता

उद्योग विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा उद्योग दर्ता भएका छन् । उत्पादनमूलक क्षेत्रमा हालसम्म ४ सय २९ वटा ठूला उद्योग दर्ता भईसकेका छन् ।

जसमा ३ खर्ब ४२ अर्ब ४८ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको लगानी भएको छ भने ८० हजार ६ सय ७४ जनाले रोजगारी पाएका छन् ।

उर्जामूलकमा ३ सय ५१ उद्योग

दोस्रो धेरै उद्योग दर्ता भएको क्षेत्र उर्जामूलक क्षेत्र हो । उर्जामूलक क्षेत्रमा हालसम्म ३ सय ५१ वटा उद्योगहरु दताए भएका छन् ।

३ सय ५१ वटा उद्योगमा ११ खर्ब ७६ अर्ब ४२ करोड ८८ लाख ३० हजार रुपैयाँ बराबरको लगानी भएको छ भने ३२ हजार ५१ जना मानिसले रोजगारी पाएका छन् ।

पर्यटनमा १ सय ७२, सेवामा १ सय ३८

नेपालको पर्यटनको सेवामुलुक क्षेत्रमा लगानी गर्न यो अवधिमा लगानीकर्ताको होड नै चलेको छ । विभागको तथ्यांक अनुसार देशभर हालसम्म पर्यटन क्षेत्रमा १ सय ७२ वटा र सेवा क्षेत्रमा १ सय ३८ वटा उद्योगहरु दर्ता भएका छन् ।

जसमा पर्यटन क्षेत्रमा १ खर्ब ११ अर्ब ७६ करोड २४ लाख ४० हजार रुपैयाँ र सेवा क्षेत्रमा ८८ अर्ब ३८ करोड ६८ लाख ५० हजार रुपैयाँको लगानी भएको छ ।

यसका साथै कृषि तथा वनजन्यमा ३१ वटा, निर्माण क्षेत्रमा २० वटा, खनिजमा ६ वटा र सूचना, सञ्चार तथा प्रविधि आधारित क्षेत्रमा २ वटा उद्योग हालसम्म दर्ता भएका छन् ।

आ.व. २०६९/७० मा सबैभन्दा धेरै ठूला उद्योग दर्ता

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा धेरै ठूला लगानीमा उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०६९/७० मा १ सय १२ वटा ठूला उद्योगहरु दर्ता भएका थिए ।

आर्थिक वर्ष २०६९/ ७० बाहेक अन्य कुनैपनि वर्षमा १०० भन्दा धेरै ठूला उद्योगहरु दर्ता हुन् सकेका छैनन् । विभागको तथ्यांक अनुसार हालसम्म यी आठ वटा क्षेत्रमा दर्ता भएका ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ९१ जनालाई रोजगारी दिएको छ ।

विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here