व्यापारीलाई अर्थ सचिवको प्रश्न, संसारभर प्याकिङ्ग भएर जाने सामान नेपालमा किन बोरामा ?

काठमाडौं, ७ माघ । ‘संसारभर प्याकिङ्ग भएर जाने सामान नेपालमा किन बोरामा आउँछ । ?’ यो अर्थ सचिव शुसिल कुमार ढुङ्गानाले ६८ औं भन्सार दिवसको अवसरमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा व्यापारीलाई गरेका प्रश्न हो ।

६८ औं भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघमा भएको छलफल कार्यक्रममा सचिव ढुङ्गानाले नेपालमा व्यापारीहरुले धेरै नाफा कमाउने उदेश्यको कारण बोरामा हालेर सामान ल्याउने गरेको समेत बताए ।

‘विश्वका हरेक देशमा व्यवस्थित तरिकाले प्याकिङ्ग गरेर मात्रै सामान ल्याउने गरिन्छ, तर नेपालमा बोरामा खादेर सामान ल्याउछन्’ उनले भने, ‘यो सबै व्यापारीको धेरै नाफा कमाउने उदेश्यको कारण उब्जिएको समस्या हो ।’

भन्सार क्षेत्रलाई मर्यादीत, पारदर्शी बनाउनको साथै छिटोभन्दा छिटो गुनासो सुनुवाई गर्नको लागि अबको एक महिनाभित्र राजस्व बोर्ड स्थापना हुने पनि उनले बताए ।

‘भन्सार क्षेत्रमा गुनासो धेरै आयो, यसको समाधानको लागि अब छिट्टै राजस्व बोर्ड स्थापना गर्दै छौं’ उनले भने, ‘अबको एक महिनामा हामी राजस्व बोर्ड पनि स्थापना हुन्छ ।’

कार्यक्रममा नेपालको भन्सार क्षेत्रमा देखिएको समस्या र निति, व्यवहार तथा प्रणालीमा सुधार गर्नुपर्ने कुराहरुको साथै राजस्व विभागको अबको योजना तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।

अर्थ सचिव ढुङ्गानाका साथै अर्थ निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, उपाध्यक्ष, तथा अन्य व्यापारीहरुको पनि कार्यक्रममा सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here