सेयरमा लगानी गर्नेको संख्या १२ प्रतिशत पुर्याउने योजना

काठमाडौं, २० चैत । सरकारले सार्वजनिक धितोपत्र (सेयर)मा लगानी गर्ने जनताको संख्या आगामी पाँच वर्ष भित्र १२ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७ – २०८०/८१) मा यस्तो लक्ष्य लिइएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ४.४ प्रतिशत नेपालीले मात्र सेयरमा लगानी गरेका छन् । जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन सरकारले ‘जनताको जलविद्युत’ नामक अभियान नै घोषणा गरेको छ । यस कार्यक्रमले पनि थप नेपालीलाई सार्वजनिक सेयरमा लगानी गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

डेढ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गरेका थिए भने उनले माथिल्लो त्रिशुली थ्रीबीको शेयर समेत किनेका छन् ।

तर केही वर्षदेखि नेपाली शेयर बजार निरन्तर तल झर्दै आएको छ । त्यसै विषयलाई लिएर लगानीकर्ता आन्दोलित छन् भने सरकारमाथि दबाब समेत बढेको छ ।

यसैबीच योजना आयोगले राजधानीको सोल्टी होटलमा पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक गरेको छ । बुधबार र बिहीवार चल्ने सो बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री, संसदीय समितिक सभापतिहरु, मन्त्रालयका सचिवहरु, निजीक्षेत्रका प्रतिनिधिहरु र विज्ञहरु सहभागी छन् ।

यस योजनाले विं सं २०९९ सम्ममा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाका दिएको योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्प कँडेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here