इसेवामा खाता खोल्नेको संख्या करिब ३० लाख, एक करोड भन्दा बढीले लिन्छन सेवा

काठमाडौं, १३ माघ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको हो ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ ।

एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् ।
दशवर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘यो एक दशक हाम्रालागि निकै उत्साहजनक रह्यो ।

कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ’।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here