वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै

काठमाडौं, १३ माघ । विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै आएको छ ।

राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ नामक प्रतिवेदनमा उल्लेख गरे अनुसार विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै आएको हो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या आर्थिक वर्ष २०७०/७१ मा अधिकतम ५,२७,८१४ पुगेको थियो भने यो संख्या आर्थिक वर्ष २०७५/७६ मा २,४३,८६८ रहेको छ ।

हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरु कतार, यू.ए.ई., जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्यांक अनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् भने यस अवधिमा खाडी मुलुकहरुबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५०.३ प्रतिशत रहेको छ ।

विगतमा मलेशियामा समेत उल्लेख्य संख्यामा कामदारहरु रोजगारका लागि जाने गरेकोमा वैदेशिक रोजगारीमा लाग्ने शुल्क लगायतका कारण केहि समय मलेशियामा वैदेशिक रोजगारी बन्द भएकोले कामदारहरुको संख्यामा कमी आएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनाको तथ्याङ्कको आधारमा कुल कामदारको १२.५ प्रतिशत मात्र मलेशियामा रोजगारीको लागि गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here