सिसडोल आसपासका १० स्थान अति प्रभावित

काठमाडौं, १५ माघ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हुँदै आएको थियो ।

प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोटको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँच स्थान अति प्रभावित क्षेत्रमा परेका छन् ।

त्यस्तै धादिङको धुनिबेँसी नगरपालिकाअन्तरगत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तरगत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यसैगरी ककनीका ८ र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् ।

तिनमा ककनी गाउँपालिकाअन्तरगतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तरगत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ रहेका छन । ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्यांकी डाँडागरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।

वैज्ञानिक डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ । स्थलगतरूपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको डा पन्तले जानकारी दिएका हुन ।

अध्ययन गएको असोज र कात्तिक महिनामा गरिएको हो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पुर्याएको असर, ल्यान्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता विषय समेटिएका थिए ।

यसका लागि लिचेड निष्कासन हुने एक ठाउँबाट लिचेडको, कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो ।

त्यस्तै ल्यान्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ ठाउँबाट ग्यास, ककनी गाउँपालिका वडा १ र २ का एकएक ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो । अध्ययनका लागि नास्टका सचिव डा महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।

नास्टकै वरिष्ठ वैज्ञानिक अधिकृत डा पन्त सदस्य–सचिव रहेको समितिको सदस्यमा नाष्टका वैज्ञानिक डा दीपाश्री रावल र जयश्री सिजापति रहेका थिए भने वातावरणविज्ञ इन्जिनियर सूर्यमान शाक्य र महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठ सदस्य रहेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here