अरिमुठेजस्तो संघीयता

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता अरिमुठेजस्तै भएको बताएका छन् ।

‘संघीयता अरिमुठेजस्तै हो । अरिमुठेजस्तै नेपालको संघीय संरचनाका ७६१ खुट्टा छन् । कुनै खुट्टाले राम्रोसँग काम गरेन भने देशले अपेक्षित गति लिन सक्दैन,’ राष्ट्रिय योजना आयोगले आयोजना गरेको राष्ट्रिय विकास परिषदको बैठकबाट संघीय सरकारले केन्द्रिकृत सोच लाद्न खोजेको भन्ने आलोचनालाई जवाफ फर्काउँदै उनले भने ।

धेरै र समान गोडा भएकाले अरिमुठे एकनासको गतिमा निरन्तर अगाडि बढ्न सकेको बताउँदै उनले संघीय संरचनामा पनि मुलुक त्यसै गरी समृद्धिको पथमा लम्किने बताए । त्यसका लागि प्रदेश र स्थानीय सरकारको क्षमता बढाउन विशेष कार्यक्रम गरिने पनि उनको भनाइ छ ।

‘अब गोडा लगाइसकेपछि त्यो चल्नै पर्छ । ति खुट्टालाई कमजोर बनाएर, लुला बनाएर लक्ष्यमा पुग्न सकिंदैन । हामीले यो कुरा बुझेका छौं,’ प्रम ओलीले भने ।

उनका अनुसार नेपालमा केन्द्रीय र स्थानीय सरकार अलग अलग होइनन् । मुलुकमा एउटै सरकार छ र त्यसका तीन तह छन् – संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, उनले भने ।

कुनै नीति केन्द्रबाट आउँदा त्यसलाई केन्द्रिकृत भन्न नमिल्ने उनको जिकिर थियो ।

स्थिर सरकारले ढुंगा टिपेर फाल्ने र खसेको ठाउँलाई निशाना लगाएको भन्ने गर्दैन, हामी पहिले लक्ष्य तोकेर मात्र ढुँगा हान्छौं, ओलीले भने ।

उनका अनुसार संघीयता भर्खर शुरु भएको प्रणाली भएकाले पनि कतिपय कुरा मिल्नै बाँकी छन् ।
सरकारले समाजवादउन्मुख अर्थव्यस्था अँगालेको र त्यो संसारमा अपनाइएका अर्थराजनीतिक प्रणालीमध्येको उत्कृष्ट भएको ओलीको भनाइ थियो । समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुने उनले बताए ।

‘समाजको एउटा हिस्सा वा सम्पन्न बर्गका लागि मात्र होइन, यो प्रणालीले सम्पूर्ण जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने छ,’ प्रमले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here