वुहानका नेपालीको सुरक्षामा चीन संवेदनशील, जीवन र स्वास्थ्यको जिम्मा सरकारले लिने

काठमाडौं, १८ माघ । नोभल कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान शहरमा रहेका नेपालीको सुरक्षामा चीन संवेदनशील रहेको उसले बताएको छ ।

काठमाडौंस्थित चिनियाँ दूताबासले सनिबार एक विज्ञप्ति जारी गर्दै वुहानमा रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकहरुको सुरक्षामा कुनै कसर नराख्ने बताएको हो ।

‘वुहानमा रहेका नेपालीहरुको सुरक्षामा चीन संवेदनशील छ । उनीहरुको स्वास्थ्य तथा जीवनको सुरक्षाका लागि चीन सरकारले काम गरिरहेको छ । साथै उनीहरुको अधिकार र रुचीको पनि ख्याल राखिने छ,’ दूताबासले भनेको छ ।

नेपालले कोरोनाभाइरस महामारीको रोकथाममा देखाएको चासो र सक्रियताको पनि दूताबासले प्रसंशा गरेको छ । साथै, त्यस सम्बन्धमा कुनै पनि प्रकारको सहयोग आवश्यक परेमा काठमाडौंस्थित चिनियाँ दूताबास र चिनको विदेश मन्त्रालयले काम गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

चिनियाँ सरकारले आफ्ना अन्तरराष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न कुनै कसर छाड्ने छैन । त्यसैले चीनमा रहेका विदेशी नागरिकरुहरुको सुरक्षाको जिम्मा लिन सरकार तयार छ र आवश्यक सबै कार्यहरु गर्नेछ, विज्ञप्तिमा भनिएको छ ।

महामारीका कारण नेपाल भ्रमण वर्ष २०२० केही प्रभावित हुने भए पनि भाइरस नियन्त्रण हुना साथ चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरिने पनि दूताबासले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले महामारीको रोकथामका लागि संकटकालीन व्यवस्थापन संयन्त्र खडा गरेर काम गरेको छ ।

यसैवीच छिमेकी भारतले वुहानमा रहेका आफ्ना नागरिकलाई शुक्रबारबाट फिर्ता ल्याउन शुरु गरेको छ तर नेपालले भने आफ्ना नागरिकलाई फिर्ता गर्नु नपर्ने बताएको छ ।

भारत र नेपालमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । अमेरिका तथा युरोपेली मुलुकहरुले चीनबाट आफ्ना नागरिकहरु फिर्ता लान शुरु गरिसकेका छन् ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै २१ देशमा ९ हजारभन्दा बढी संक्रमित छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here