डिम्याट खाता खोल्ने १६ लाख नाघे, ५ अर्ब ६ करोड सेयर अभौतिकिकरण

काठमाडौं, २० माघ । सेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख नाघेको छ ।

नेपाल धितोपत्र बोर्डको अनुसार माघको दोस्रो हप्तासम्ममा हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख १४ हजार ८२१ पुगेको छ ।

सूचीकृत कम्पनीहरुको पाँच करोड भन्दा धेरै कित्ता शेयर डिम्याट भएको छ भने ५ अर्ब ६ करोड ८५ लाख १७ हजार ५४७ कित्ता शेयर अभौतिकिकरण भएको छ।

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले देशभरि धितोपत्र बजार विस्तार गर्ने र जनसहभागिता बढाउनका लागि एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गर्ने नीति लिएको थियो ।

यही नीतिलाई सार्थक बनाउन कतिपय निक्षेप सदस्यले निःशुल्क डिम्याट खाता खोल्नुका साथै एकवर्षको वार्षिक शुल्कसमेत निःशुल्क गरेका छन् । जसले पनि डिम्याट खातावालाको संख्या बढेको जनाईएको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here