काठमाडौँ उपत्यकामा सवारीसाधन अब धोएर मात्रै प्रवेश

काठमाडौं, २२ माघ । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ ।

सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ । उनले भने, ‘पटक पटक धादिङ पुगेर हेरिरहेको म आफैँ हेरिरहेको छु ।’

अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ ।

उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए ।

काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौँ महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् ।

सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here