भारतीय पर्यटक नेपाल भित्र्याउन ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान सुरु

काठमाडौं, २२ चैत । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकलाई लक्षित गरी ‘गर्मीसे बेहाल चलो नेपाल’ पर्यटकीय अभियान सुरु गरेको छ ।

‘ओला क्याब’ नामक वेवसाइट तथा यसको मोवाइल एपमार्फत बोर्डले भारत केन्द्रित प्रवद्र्धनात्मक अभियान शुरु गरेको जानकारी दिएको छ ।

यस अभियान अन्तर्गत ‘लाइफटाइम एस्क्पेरियन्स’का अफर भारतीय यात्रीबीच प्रचार गर्ने, राष्ट्रिय प्रतियोगिता संचालन गर्ने र त्यसमार्फत छानिने ५ जोडीलाई नेपाल घुमाउने योजना छ ।

यसबाट नेपाल आउने भारतीयले सोही सामाजिक संजालमार्फत नेपालका गन्तव्यको प्रवद्र्धन गर्नेछन् । जसले गर्दा धेरै भन्दा धेरै भारतीय यात्रीसमक्ष नेपाली गन्तव्यको प्रचार हुने अपेक्षा बोर्डले गरेको छ ।

ओला म्यासेज, ओला इनबक्स र ब्लगमार्फत गर्मीको छुट्टी मनाउन कहाँ जाँउ भनेर विचार गरीरहेका सम्भाव्य भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले जानकारी दिए ।
 

यसबाट नेपाल भित्रिने भारतीय पर्यटकको आगमन उल्लेख्य बढ्ने अपेक्षा बोर्डको छ । सिमित सिजनमा मात्र केन्द्रित नेपाली पर्यटनलाई अफ सिजन मानिने गर्मी र वर्षाको याममा पनि बढी पर्यटक भित्राउन यो अभियान सहयोगी हुने जोशीको भनाई छ ।

अभियान शुरु गरिएको दशौ दिनसम्म प्रवद्र्धनात्मक प्रतियोगीतामा ५१ हजार भन्दा बढी प्रयोगकर्ता सहभागी भैसकेका बोर्डले उल्लेख गरेको छ । ओला क्याबका लाखौ प्रयोगकर्ता बीच यो सन्देश जाने गरेको छ ।

नेपाली पर्यटनको लागि भारत सबैभन्दा ठूलो र मुख्य बजार हो । नेपाल भ्रमण वर्ष २०२० को लागि पनि यो अभियान सहयोगी सावित हुने बोर्डको भनाई छ । सन् २०१८ मा २ लाख बढी भारतीयले हवाई मार्गबाट नेपाल भ्रमण गरेका थिए ।


नेपाल पर्यटन बोर्डका अनुसार भारतमा ९.९ प्रतिशत यात्रीले ट्याक्सी अनलाइन बुक गर्छन् । त्यस मध्य ओला क्याब प्रमुख रोजाइमा रहेको बुकिंग एप हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here