कोरोनाबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो, ३४ हजार बढी संक्रमित

काठमाडौं । शनिबारसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, कोरोनाभाइरसबाट संक्रमित संख्या ३४ हजार ५४६ पुगेको छ ।

मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० बर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् ।

त्यसैगरी अर्का एक जना ६० बर्षिय जापानीको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको जनाइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन् ।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार उहानमा पहिलो पटक देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।

विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले बताए ।

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here