काठमाडौं । मकै नेपालमा सर्वसुलभ उपलव्ध हुने अन्न हो । जो सडक किनारादेखि पाँचतारे होटलका मेनुमा समेत पाइन्छ । मकैलाई भुटेर, पोलेर, उसिनेर र भातको रुपमासमेत खान सकिन्छ ।
त्यतिमात्रै होइन, मकैबाट अन्य विभिन्न परिकार पनि बन्ने गरेका छन्। बेमौसमी मकै प्रायः सधैँभरी उपलव्ध हुन्छ। मकै अधिकांशले रुचाउने खाजामा पर्छ। यो स्वादिलो मात्रै नभएर स्वास्थ्यका लागिसमेत फाइदाजनक छ।
कुनै समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजा सबैमा मकै नै उपभोग गर्थे । त्यतिबेला धानखेत नहुँदा स्थानीय स्तरमा अत्यधिक परिमाणमा उत्पादन हुने मकै हिमाल र पहाडका मानिसको प्रमुख खाद्यान्न थियो । चामल कि त पहुँचवाला कि राम्रै आम्दानी हुनेले चाडबाडमा उपभोग गर्न पाउँथे ।
तर पछिल्लो समय परिवेश बिल्कुलै फेरिएको छ । सडकको पहुँच, जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ ।
पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् ।
अहिलेको मौसममा मौसम बदलिरहेको छ । वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायःजसोले वर्षाको मौसममा तातो–तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् तर बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ । हामी रहरले पोलेको मकै खाने गर्छौँ ।
किनभने पोलेको मकैको स्वाद नै मिठो हुन्छ । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेररु आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ ।
पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।
पोलेको मकै खानुको फाइदा :
– पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।
-मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।
– त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।
– पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ ।
-बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।
-मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।
– पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।
-मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।
-पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि क मगर्दछ ।
-काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।
-मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।
-मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।
-गर्भवती महिलाका लागि मकै निकै उत्तम आहार हो । यसमा फोलिक एसिड पर्याप्त पाइने हुनाले गर्भको शिशुका लागि पोषणको पर्याप्त आपूर्ति हुन्छ ।