टाँक निर्यात निरन्तर ओरालोतर्फ, एकवर्षमै ६५ लाखको कमी

काठमाडौं, २६ माघ । नेपालको टाँक निर्यात ओरालोतर्फ लागेको छ । थोरै मात्रामा भए पनि निरन्तर टाँक उत्पादन गरी निर्यात गर्दै आएको नेपालको व्यापार ओरालो लागेको तथ्याङकले देखाएको छ ।

गत एक वर्षमा नेपालबाट झण्डै ७२ लाख रुपैयाँ बराबरको टाँक निर्यात भएको छ ।

नेपाल व्यापार तथा निकासी केन्द्रको तथ्याङक अनुसार नेपालबाट एक वर्षको अवधिमा ७१ लाख ९० हजार रुपैयाँको टाँक निर्यात भएको हो।

टाँक निर्यात अघिल्लो वर्षको तुलनामा झण्डै ६५ लाख रुपैयाँले कम हो । सन् २०१७/१८ मा १ करोड ३७ लाख रुपैयाँको टाँक निर्यात भएको थियो ।

नेपाली उद्योगहरूले उचित वातावरण पाउने हो भने विश्व टाँक बजारमा यस्तो उत्पादनले राम्रो स्थान पाउने देखिन्छ । नेपाली उद्यमीले पश्चिमी विकसित मुलुकमा आफ्ना वस्तुहरू निर्यात गरिरहेका छन् ।

यसबाट टाँक उत्पादन क्षेत्रमा कार्यरत उद्यमीको क्षमता राम्रो रहेको पुष्टि हुन्छ । त्यसैले टाँक उद्योगको क्षमता अभिवृद्धि र लागत न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । यसो हुन सके छोटो समयमै यस्ता उद्योगले छलाङ मार्ने निश्चित छ ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालबाट अमेरिका, जर्मनी, चीन तथा नेदरल्याण्मा धेरै मात्रामा टाँक निर्यात हुने गरेको छ ।

निरन्तर घट्दो क्रममा टाँक निर्यात

विश्व बजारमा टाँकको माग तथा व्यापार बढ्दै जादाँ नेपाली टाँकको निर्यातमा भने कमी आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार सन् २०१२/ १३ देखि हालसम्म टाँकको निर्यात निरन्तर घट्दो क्रममा नै रहेको छ ।

सन् २०१२/१३ मा सबैभन्दा धेरै अर्थात ८ करोड २४ लाख रुपैयाँको टाँक निर्यात भएको थियो ।

त्यस्तै, २०१३/ १४ मा ७ करोड ५६ लाख, २०१४/१५ मा ६ करोड ३९ लाख, २०१५/ १६ मा ४ करोड ४९ लाख, २०१६/१७ मा २ करोड १९ लाख, २०१७/१८ मा १ करोड ३८ लाख रुपैयाँको टाँक निर्यात भएकोमा २०१८/१९ मा भने ७१ लाख ९० हजार रुपैयाँको मात्रै टाँक निर्यात भयो ।

सबैभन्दा धेरै अमेरिकामा निर्यात

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार २०१८/ १९ मा नेपालबाट सबैभन्दा धेरै टाँक अमेरिकामा निर्यात भएको छ ।

एक वर्षको अवधीमा नेपालबाट अमेरिकामा मात्रै ५३ लाख १५ हजार रुपैयाँ बराबरको टाँक निर्यात भयो ।

त्यस्तै, जर्मनीमा १० लाख २१ हजार, चीनमा ४ लाख ४० हजार, नेदरल्याण्डमा ३ लाख ५४ हजारको टाँक निर्यात भयो भने जापानमा मात्रै ६० हजारको टाँक निर्यात भयो ।

आईटीसी ट्रेडम्यापको अनुसार टाँकको विश्व व्यापार १ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढीको छ । विश्व टाँकको बजार बढ्दै गएपनि नेपाली टाँकको निर्यात भने निरन्तर ओरालो लागिरेहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here