बन्ने नै भयो लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र

सम्मेलन केन्द्रको डिजाइन

लुम्बिनीमा ५ हजार क्षमताको अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र तथा ध्यान हल बन्ने पक्का भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी क्षेत्र विकास कोषमार्फत यो आयोजना अगाडी बढाएको हो ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) प्रतिवेदन तयार भएको छ । मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमा इआईए पठाइसकेको छ । अहिले आयोजनाले उक्त प्रतिवेदनउपर सरोकारवालाबाट प्रतिक्रिया संकलन गरिरहेको छ ।

कहाँ बन्दैछ ?
अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन तथा ध्यान केन्द्र रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यान भित्र निर्माण गरिंदैछ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका ३, ५, ६, ८, ९ र १० नम्बर वडा भित्र यो उद्यान रहेको छ ।

सम्मेलन केन्द्र ५ हजार क्षमताको हुनेछ । सरकारले लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बौद्ध सम्मेलनका बेला अस्थायी संरचना बनाएर कार्यक्रम गर्दै आएको थियो । लुम्बिनी क्षेत्र विकास कोषले आयोजना गर्ने अन्तरराष्टिय सम्मेलन आयोजना गर्न सुविधा सम्पन्न तथा स्थायी संरचनाको आवश्यकता महसुश गरी अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन तथा ध्यान केन्द्र निर्माण गर्न लागिएको हो ।

हल निर्माण स्थल

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा यो आयोजनाको परिकल्पना गरिएको थियो । वर्तमान कार्यकाल शुरु भएपछि स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अग्रसरतामा आयोजनाले गति लिएको हो । सम्मेलन केन्द्रमा भिक्षु र महत्वपूर्ण प्रतिनिधिका लागि अलग्गै व्यवस्थासहितको संरचना बन्दैछ ।

यो सम्मेलन केन्द्र बनेपछि स्थानीय व्यवसाय तथा रोजगारका अवसर सिर्जना हुने अपेक्षा सरकारको छ । यसबाट सो क्षेत्रको सौन्दर्य थप बढ्ने तथा कार्यक्रम र गोष्ठिका माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसबाट आयस्रोतको वृद्धिले स्थानीय तहको राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here