गर्मी छल्न सनग्लास: आँखाको सुरक्षा र फेसन सँगसँगै

-जितेन्द्र खनाल

काठमाडौं, २४ चैत । चर्को घाम, त्यसमाथि धुवाँधुलो त्यसैले त धेरै मानिसहरुलाई गर्मी मन पर्दैन । तर, सही ड्रेसअपले उखरमाउलो गर्मीलाई समेत छलेको महसुस गर्न सकिन्छ ।

गर्मीमा विभिन्न सरुवा रोगले सताउने त छँदै छ, साथमा धुलो, धुँवा र सूर्यको किरणले धेरैको आँखामा समस्या आउने सम्भावना पनि उत्तिकै हुन्छ ।

त्यसैले त आँखाको सुरक्षा र व्यक्तित्वमा निखार ल्याउन घर बाहिर निस्किँदा सनग्लास लगाउनु अनिवार्य जस्तै भएको छ । सनग्लासले तपाँईलाई सुरक्षित त बनाउछ नै फेसनेवल तथा स्टायलिस पनि देखाउँछ ।

राम्रो सनग्लासमा पराबैजनी किरणलाई सोस्न सक्ने क्षमता भएकोले मोति विन्दुबाट समेत बचाउँछ ।

फेसन ट्रेन्ड फलो गरेर वा आँखालाई बचाउन पछिल्लो समय नेपालमा पनि सनग्लास लगाउनेहरुको जमात बढ्दो छ । सनग्लास प्रतिको बढ्दो आकर्षणलाई हेरेरै चश्मा व्यवसायीहरुले विभिन्न व्राण्डका सनग्लास उपलब्ध गराउँदै आएका छन् । पछिल्लो समय एभियटर सनग्लासको माग उच्च भएको उनीहरुको भनाइ छ ।

बजारमा विश्वका प्रशिद्ध रेबन, गुची, पोलिस, रिबोक, डायोर, फास्ट ट्रयाक लगायत व्राण्डका चस्माहरु उपलब्ध छन् । तपाईंले आफ्नो बजेट हेरेर ४ सय रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मका सनग्लास किन्न सक्नु हुन्छ । तर, ख्याल राख्नु पर्ने कुरा के छ भने सस्तो मूल्यका सनग्लासहरु भने व्राण्डेडका कपी हुन् ।

व्राण्डेड उत्पादन महंगो हुने भएकोले मध्यम बर्गीय उपभोक्ताको रोजाई चाइनिज कपी हुने गरेको व्यवसायीहरु बताउँछन् ।

कपी चस्मामा पनि रेबन व्राण्डका चस्माको माग सबैभन्दा बढी हुने गरेको व्यवसायीको भनाइ छ । रेबन व्राण्डका कपी चस्माहरु नेपाली बजारमा धेरै मात्रामा प्रयोगमा छन् ।

दरबारमार्गस्थित अप्टिकल स्टोरका चस्मा व्यवसायी कनक कंसाकारका अनुसार रेबन व्राण्डका ४ सय रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्मका कपी सनग्लास उपलब्ध छन् ।

त्यसो त उनका पसलमा १२ हजार रुपैयाँसम्मका चस्मा किन्ने व्यक्ति आउने कंसाकार बताउँछन् । तर, यस्ता उपभोक्ता निकै कम हुन्छन् ।

रेबनका चाइनिज, सिंगापुर, इटालियन हाइ कपीमा चस्मा उपलब्ध हुने कान्तिपुर आँखा क्लिनिकका प्रोप्राइटर रबिन्द्र पाठक बताउँछन् । उनका अनुसार चाइनिज कपीको मूल्य १ हजार रुपैयाँदेखि सुरु हुन्छ ।

त्यस्तै सिंगापुर कपी ५ हजार रुपैयाँदेखि र इटालियन कपी ८ हजार ५ सय रुपैयाँबाट नेपाली बजारमा उपलब्ध हुने गरेका छन् ।

बजारमा ४ सय रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मका चस्मा उपलब्ध भएको विगत ५ वर्षदेखि चस्मा व्यवसाय गरिरहेका व्यवसायी समीर भण्डारी बताउँछन् ।

त्यस्तै टमी र गुची ब्राण्डका चस्मापनि नेपाली उपभोक्ताको रोजाइमा पर्ने दरबारमार्गस्थित अप्टिकल प्यालेसकी व्यवसायी सुजु लामा बताउँछिन् । टमी ब्राण्डका सनग्लास ३० हजार रुपैयाँदेखि ४८ हजार ९ सय ९० रुपैयाँसम्ममा उपलब्ध छन् ।

अनलाईन सेवाले सुस्तायो व्यापार

अनलाइन सपिङ शुरु भएसँगै पसलमा पुगेर सनग्लास किन्ने उपभोक्ताको संख्या घटेको व्यवसायीहरु बताउँछन् । दुई वर्ष अघिको तुलनामा अहिले ब्यापार धेरै घटेको व्यवसायी रमेश श्रेष्ठ बताउँछन् ।

‘अहिले प्रायले अनलाइनमा नै बुक गर्छन्, खोजी राख्न नि परेन साथै घरमै डेलिभरी सेवापनि हुन्छ,’ उनले भने । अझ विदेशी बजारमा त लेन्सकार्ट जस्ता चस्माका अनलाइन सुपरस्टोर समेत सञ्चालनमा छन् जहाँ छानीछानी चस्मा लगायत वस्तु अर्डर गरी घरमै मगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here