नेपालीले भारतीय विमानस्थल हुँदै विदेश जान नपाउने

काठमाडौं, ५ फागुन । विदेश जाने नेपालीले अब भारतीय विमानस्थल प्रयोग गर्न नपाउने भएका छन् ।

नेपालबाट स्थलमार्ग हुँदै भारत गएर त्यहाँको विमानस्थलबाट तेस्रो मुलुक उड्ने नेपालीहरुले अब भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

खुला सीमानाका कारण कतिपय नेपालीले भारतीय विमानस्थलको प्रयोग गरी तेस्रो मुलुक उड्नका लागि पुग्ने गरेका थिए । तर अब भारत हुँदै तेस्रो मुलुक जान नपाइने भएको हो ।

भारतबाट घुम्नका लागि तेस्रो मुलुक जान पनि पाइने छैन । जान चाहने नेपाली भारतबाट नेपाल आइ नेपालको विमानस्थलबाट उड्नुपर्नेछ ।

भारतका लागि नेपाली राजदूतावासद्धारा जारी विज्ञप्तिमा नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत प्रवेश गरी तेस्रो मुलुक उडान गर्न खोज्दा आइपर्न सक्ने समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्न अनुरोध गरिएको छ ।

मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत नौवटा देशहरुमा भारतीय विमानस्थल प्रयोग गरी उड्नका लागि नेपाल सरकारले रोक लगाएको विज्ञप्तीमा जनाईएको छ ।

भारतसँगको खुला सिमाको दुरुपयोग गर्दै मानव तस्करीसमेत हुने गरेको भएकाले नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जानेको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था कार्यान्वय गरेको छ ।

बाँकी देशहरुको हकमा राहदानीमा भारतीय अध्ययागमनबाट भारत प्रवेश गरेको छाप लगाउनु अनिवार्य गरिएको दूतावासले जनाएको छ ।

नेपालीले भारतीय विमानस्थल प्रयोग गर्नुको प्रमुख कारण सस्तो हवाइ शुल्क हो । नेपालका विमानस्थल भन्दा भारतीय विमानस्थल प्रयोग गर्दा नेपालीलाई धेरै सस्तो पर्दछ ।

कतिपय नेपाली विदेशबाट आवतजावत गर्दा भारतीय विमानस्थल नै प्रयोग गर्छन् । भारतसम्म जहाजको प्रयोग गरेर त्यहाँबाट नेपाल आउनजान स्थलमार्गको प्रयोग गर्छन् । अब यिनीहरुलाई यसको असर पर्नेछ । त्यसका अलावा दलालहरुले नेपालीलाई विदेश पठाउन पनि भारतीय विमानस्थलको प्रयोग गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here