सिएनआईको १६ औं साधारण सभा सम्पन्न, अध्यक्षमा सतिश कुमार मोर

काठमाडौं, २५ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा भएको साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले गर्नुपर्ने काम सबै गरिसकेको र अब देशलाई समृद्ध बनाउनको लागि राजनीतिज्ञ, कर्मचारी र उद्यमी व्यावसायीहरुले सहकार्य गर्नुपर्ने बताए ।

नेपालको अवस्था धेरै सुधार भएको भन्दै उनले भने, ‘अबको ४ वर्षभित्र देशमा कोही पनि निरपेक्ष गरिबीको रेखा मुनी हुँदैनन् ।’

उद्योग व्यावसायलाई प्रवद्र्धन गर्ने सरकारको नीति भएकाले व्यावसाय सञ्चालनमा कुनै अवरोध आए सिधै सरकारलाई खबर गर्न पनि आग्रह गरे । तर, व्यावसायीहरुले पनि स्वच्छ र पारदर्शी ढंगले काम गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।

उनले चिनी उद्योगीहरुले धोका दिएको प्रसंग कोट्याउँदै व्यावसायीले सरकारलाई झुक्याउन राम्रो नहुने पनि बताए ।

सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले निजीक्षेत्रका सबै छाता संगठन एक भएर आएमा सरकारलाई पनि सहकार्य गर्न सजिलो हुने बताए ।

सरकारले गरेको दोहोरो अंकको आर्थिक वृद्धिको परिकल्पना साकार पार्नका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने पनि उनले बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा अहिले उद्योग व्यावसाय सञ्चालनको लागि राम्रो वातावरण बन्दै गएको बताए । उनले उद्यमीहरुले आभिभावक खोजेको अवस्थामा अहिलेका प्रधानमन्त्रीमा त्यो भूमिका देखेको बताए ।

प्रधानमन्त्रीले देखेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन सिएनआई प्रतिबद्ध भएर लाग्ने पनि उनले बताए ।

सिएनआईका संस्थापक अध्यक्ष विनोद चौधरीले अन्य धेरै पक्षमा सुधार भएपनि भौतिक पूर्वाधारको मामिलामा नेपाल धेरै नै पछि भएकाले अब भौतिक पूर्वाधार निमार्णमा ध्यान दिनुपर्ने बताए ।

सतिशकुमार मोर नयाँ अध्यक्ष

सिएनआईको १६ औं साधारणसभाले उद्योगी सतिश कुमार मोरलाई नयाँ अध्यक्ष चयन गरेको छ । लक्की ग्रुपका अध्यक्ष उनी यसअघि परिसंघको उपाध्यक्ष थिए ।

उनी शिवम् सिमेन्टका अध्यक्ष पनि हुन् । साथै उनी आयात निर्यातको व्यावसायमा पनि लामो समयदेखि संलग्न छन् ।

साधारण सभामा तीन प्रमुख निर्यातकर्ता डिएचएल एक्सप्रेस, रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्पिनिङ मिल्सलाई सिएनआई एक्सपोर्ट प्रमोसन प्रदान गरियो ।

त्यस्तै सिएनआई प्रेसिडेन्ट अवार्डबाट व्यावसायी बालकृष्ण श्रेष्ठ, शिवरतन सारदा, पवन गोल्यान, विजय शाह र नरेन्द्र बस्न्यातलाई सम्मानित गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here