उद्योगमा जाने कर्जा बढ्यो, ३४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा

काठमाडौँ, २५ चैत । औद्योगिक क्षेत्रमा जाने बैंक कर्जाले निरन्तर वृद्धि पछ्याएको छ ।
गत आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा करीब सवा ८ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् जुन गत वर्षको तुलनामा २७.४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा लगानी करिब २२ प्रतिशतले बढेको थियो । गत वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋण लगानीको ३३.७ प्रतिशत हो ।

इन्धनको आपुर्ति व्यवस्थामा आएको सुधार तथा उद्योग व्यवसायको क्षेमता उपयोग बढेसँगै औद्योगिक क्षेत्रमा ऋण लगानी पनि बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनमा यस्तो उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेका छन । उक्त अवधिमा उत्पादन सम्बन्धी (कृषि, वन तथा पेय पदार्थ एवम् गैर खाद्यवस्तु) उद्योग प्रवाह भएको कर्जा २८.७ प्रतिशतले बढेको छ ।

यसैगरी, निर्माण क्षेत्रका उद्योगको कर्जा १९.२ प्रतिशतले, पर्यटन उद्योग/सेवा क्षेत्रको ३५.६ प्रतिशतले, विद्युत, ग्याँस तथा पानी क्षेत्रको ४१.४ प्रतिशतले, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक क्षेत्रको २४ प्रतिशतले र खानी सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा करिब ४४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

कुल औद्योगिक कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी ४६ प्रतिशत र  खानी सम्बन्धी उद्योगमा सबैभन्दा न्यून ०.६ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

सोही अवधिमा निर्माण सम्बन्धी उद्योगमा २९.३ प्रतिशत, पर्यटन उद्योगमा १०.२ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १०.१ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ३.८ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंक तथा वित्तीय संस्थाको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौं क्षेत्रको अंश सबैभन्दा बढी ५८.९ प्रतिशत छ । अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहेको र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकालेपनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको अध्ययनको निष्कर्ष छ ।

काठमाडौं क्षेत्र (उपत्यका) पछि धेरै कर्जा प्रवाह हुने क्षेत्रमा विराटनगर परेको छ । उक्त अवधिमा विराटनगर क्षेत्रमा कुल औद्योगिक कर्जाको साढे १० प्रतिशत लगानी भएको देखिन्छ ।

यस्तै, वीरगञ्ज क्षेत्रको अंश १० प्रतिशत, सिद्धार्थनगर क्षेत्रको ७.२ प्रतिशत, पोखरा क्षेत्रको ६.२ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ३.२ प्रतिशत, धनगढी क्षेत्रको २.१ प्रतिशत र जनकपुर क्षेत्रको १.८ प्रतिशत रहेको सरकारी तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here