महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

फाइलफोटो

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको याक एण्ड यती होटलमा आयोजित एक कार्यक्रमकाबीच ढकालले औपचारिक रुपमा उम्मेद्धारी घोषणा गरेका हुन ।

उम्मेद्धारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफ्नो उम्मेद्धारी महासंघलाई सबल र सुदृढ बनाउन रहेको बताएका छन् । उनले आफु विजयी भएमा जिल्ला तथा नगरमा रहेका महासंघलाई अझ सशक्त र क्रियाशिल बनाउने बताए ।

‘सम्मृद्धिको आधार, राज्य-निजी क्षेत्र साझेदार’ भन्ने मुल नारालाई आत्मसाथ गरी अगाडी बढेका ढकालले निजी क्षेत्रसँगको सहकार्य विना देशको आर्थिक विकाश संभव नरहेको बताए ।

उनले देशमा औद्योगिक वातावरण तयार गर्न , वैदेशिक लगानी भित्र्याउन र व्यवसायिको हकहितमा काम गर्न महासंघले सधै सरकार र व्यवसायिबीच पुलको रुपमा रहेर काम गर्ने बताए ।

सरकारको कर नितीले साना व्यवसायि मारमा परेको बताउँदै उनले यसका लागि पारदर्शि र बैज्ञानीक आधारमा कर निर्धारण गर्नु पर्ने कुरामा जोड दिए ।

झण्डै एकदशकदेखि पदीय जिम्मेवारी सहित नेपाल उद्योग बाणिज्य महासंघमा कृयाशील उपाध्यक्ष ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गरेका थिए ।

केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित भएका ढकाल महासंघको एसोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ढकाल महासंघ अन्तर्गत रोजगारदाता परिषद्का सभापति पनि हुन् ।

कार्गो व्यवसायबाट व्यवसाय सुरु गरेका ढकाललाई आइएमई मार्फत रेमिटेन्स व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ। ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स ,उर्जा, अटोमोबाइल, सूचना- प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना ‘आइएमई ग्रुप’ का अध्यक्ष हुन्।

व्यवसायीक क्षेत्रका अतिरिक्त ढकाल सामाजिक क्षेत्रमा समेत उत्तिकै कृयाशील रहेका छन्। पश्चिमाञ्चल विकास मंचका अध्यक्ष समेत रहेका ढकाल नेपालका लागि इन्डोनेसियका बाणिज्य दूत हुन् ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष पनि हुन् । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा यहि चैत २८ र २९ गते हुने भएको छ । यो पटकको साधारणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् ।

ढकालको उम्मेद्वारी घोषणा कार्यक्रममा जिल्ला नगर,वस्तुगत तथा एशोसियटका व्यवसायीहरु सहभागीता रहेको थियो । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here