भ्रमण वर्षलाई काेराेना त्रास, प्रचारप्रसारका कार्यक्रम स्थगित !

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि नेपालले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मारमा परेको छ ।

विश्वका धेरै देशहरु कोरोना भाइरससँग जुधिरहेका बेला एकै वर्ष २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य नाममा मात्र सिमित हुने देखिएको छ ।

नियन्त्रण बाहिर देखिएको कोरानाकै कारण नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

नेपाल आउने पर्यटकको मुख्य केन्द्र मानिएको चीनसहित कयौदेश कोरोनाको प्रकोपमा छ । केही साता यता विश्वभर हवाई यात्रा प्रभावित बनेको छ।

निकट भविष्यमा हुने भनिएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गर्ने तयारीमा सरकार देखिएको छ। पर्यटन मन्त्रालयका अनुसार भ्रमण वर्ष प्रचारका कार्यक्रमहरु अब आन्तरिक रुपमा मात्र सिमित हुनेछन्।

यसअघि पर्यटन मन्त्री भट्टराई आफै अस्ट्रेलियासहित केही देशमा भ्रमण वर्षको प्रचारमा निस्किएका थिए। चीनको वुहान प्रान्तबाट देखिएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिएको छ।

चीनसहित दक्षिण कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, इटाली, अमेरिकालगायत नेपाल घुम्न आउन सक्ने धेरै देश कोरोना भाइरसबाट प्रभावित छन्।

भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडी बढे पनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखापरेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो।

वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरुको संख्यामा कमि आएको थियो। नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा सरकारले कडाई गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here