कोरोना भाइरस रोक्न यस्तो छ सरकारी तयारी

काठमाडौं, १८ फागुन । कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मातहतका निकायलाई तत्काल काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एवं पूर्वतयारीका कार्यहरुको बारेमा मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

आइतबार मन्त्री भट्टराईको संयोजकत्वमा बसेको बैठकले मातहतका सबै निकायलाई सबै तयारीका लागि निर्देश गरेको हो । बैठकमा मन्त्रालयका सचिव, सह सचिवहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका निगमका महाप्रबन्धक, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख, अध्यागमन विभागका महानिर्देशक लगायत सरोकारवाला निकायका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

बैठकका निर्णयहरु :-

१. त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सवै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रवन्ध तत्काल मिलाउनको लागि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक श्री देवचन्द्रलाल कर्ण संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. हेमन्त चन्द्र ओझा, त्रि. वि. अध्यागमन कार्यालयबाट निर्देशक श्री राजेश पन्थी, एअर लाइन्स् अपरेटर कमिटिबाट श्री शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने।यस कार्यदलले स्वास्थ्य परिक्षणकालागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने गराउने ।

२. त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा बिदेशबाट आउने यात्रुहरुले स्वास्थ्य जाँचको डेक्स पार गरि जानु पर्ने प्रावधान सम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरुपमा जहाज अवतरणको क्रममा इल द्ययबचम र आगमन तथा प्रस्थान कक्षबाट निरन्तररुपमा प्रवाह गर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तत्काल मिलाउने ।

३. सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न उक्त मन्त्रालयलाई अनुरोध गर्ने ।

४. यस भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिन भित्र संक्षिप्त प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले पेश गर्ने ।

५. नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समिक्षा गरि पेश गर्ने।नेपालको आन्तरिक पर्यटन प्रबर्द्धनको लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ता भित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्ने ।

६. नेपालको पर्यटन प्रबर्द्धनको लागि बैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशिल समुहले देशगत सूचनाहरु अध्यावधिक राखि आवश्यक आन्तरिक तयारी गर्ने ।

७. नेपाल वायुसेवा निगमबाट जापानको नरिता अन्तराष्ट्रिय विमानस्थलमा हुन लागेको उडान शुरुवातमा दुवै मुलुकमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने ।

८. नेपाली नागरिकको अन्तराष्ट्रिय यात्रा सम्बन्धमा Travel Advisory को सम्बन्धमा आवश्यक कार्य हुन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here