आजबाट ८ औं राष्ट्रिय खेलकुद, औपचारिक उद्घाटन अगाडी नै एक दर्जन खेल

काठमाडौं, २७ चैत । आज (बुधबार)बाट ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने नेपालगन्ज रंगशालामा बैशाख ५ मा हुने कार्यक्रम छ ।

त्यसअगाडी नै खेलहरु भने शुरु हुन लागेको हो । प्रतियोगितामा कूल ३५ खेल विधामा खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये १४ विधाका खेल औपचारिक उद्घाटन अगाडी नै हुन लागेको राष्टिय खेलकुद परिषद्ले जानकारी दिएको छ ।

औपचारिक उद्घाटन र समापन नेपालगन्ज रंगशालामा हुनेछ । खेलाडी उत्पादन र खेल संस्कृति विकासमा राष्ट्रिय खेलकुद महत्वपूर्ण इभेन्ट मानिन्छ ।

१३०७ पदक, ५२११ खेलाडी
८ औं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक संघीय फम्र्याटमा हुँदैछ । यस पटक सात प्रदेश, तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रशरी र सशस्त्र प्रहरी) र गैरआवासीय नेपाली संघले पनि भाग लिदैछ ।

प्रतियागितामा कूल ५ हजार २ सय ११ खेलाडी १ हजार ३ सय ७ वटा पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय खेलकुद हरेक दुई, दुई वर्षमा आयोजना हुने प्रावधान छ । सोही अनुसार यस वर्ष निर्धारित समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन हुन लागेको हो ।

पहिलो पटक एनआरएन सहभागी
यस प्रतियोगिताबाट पहिलो पटक गैरआवासीय नेपाली अन्य नेपाली टोलीसँग प्रतिस्पर्धामा उत्रिदैछन् । एनआरएनले आधा दर्जन भन्दा बढी खेलमा भाग लिने जानकारी दिएको छ ।

प्याराग्लाइडिङको पहिलो प्रतिस्पर्धा
८ औं संस्करणको राष्ट्रिय खेलकुद प्रतियागिताबाट पहिलो पटक प्याराग्लाइडिङमा प्रतिस्पर्धा हुँदैछ ।
यसअघि यो विधालाई केवल पर्यटन आकर्षणको माध्यम मात्र मानिएको थियो । सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियाडमा नेपालले यही खेलबाट पदक हात पारेको थियो ।

कहाँ कहाँ हुँदैछ खेल
औपचारिक उद्घाटन र समापनको जिम्मा प्रदेश ५ ले लिएको भएपनि राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु भने देशका विभिन्न स्थानमा संचालन हुँदैछन् । दाङमा टेवलटेनिसको प्रतिस्पर्धा हुनेछ ।

कपिलवस्तुमा कुस्ती, बुटवलमा टङटेनिस, ललितपुरको सातदोबाटोमा स्क्वास प्रतिस्पर्धा हुनेछ । नेपालगन्जमा अधिंकाश खेल संचालन हुने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here