सगरमाथाको उचाई नाप्न जाने टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बिदाई गरेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबारबाट सगरमाथाको उचाई नाप्न फिल्डमा खटिदैछ ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोलीले एक महिना समय लगाएर सगरमाथाको उचाइ नाप्नेछ ।

नेपालमा तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यो टोलीको प्रतिवदेन आधिकारिक प्रधानमन्त्री ओलीको भनाई छ । “सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला,” प्रधानमन्त्री ओलीले भने “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”

प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यलाई ख्याल गरी काम गर्न टोलीलाई सुझाव दिए । “लक्ष्यमा अडिग रहनुहोस, तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोला, सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” उनले भने ।

कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो ।

यस टोलीमा सहभागी गौतम यसअघि सगरमाथा आरोहण गरिसकेका कर्मचारी हुन् । सन् १९५४ मा भारतको नापी विभागले सगरमाथाको उचाई नापेको थियो । यस सिजनको आरोहण शुरु भए लगत्तै टोलीले आरोहण थाल्ने बताइएको छ । सगरमाथाको उचाईको अन्तिम प्रतिवेदन सन् २०१९ को अन्तिमसम्म प्राप्त भइसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here