कोरियाले श्रमिक कोटा घटायो, कृषि क्षेत्रमा नेपाली कामदार नलिने

काठमाडौं, २४ फागुन । दक्षिण कोरियाले नेपाली कामदारको कोटा घटाएको छ । नेपाली कामदार लैजाने कोटा घटाउँदै आगामी वर्ष ५ हजार ७ सय जना मात्र लैजाने भएको छ ।

एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो।

गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो।

आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने पनि कोरियाले जानकारी गराएको छ। यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउनेछन्।

दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको हो। पहिलो वर्ष २ हजार ८ सय १४ जना दक्षिण कोरिया पुगेका थिए। २००९ मा भाषा परीक्षा सञ्चालन भएन।त्यस वर्ष अघिल्लो वर्ष परीक्षा दिएका १ हजार ९ सय ११ जना दक्षिण कोरिया उडेका थिए।

त्यसपछि नियमित भाषा परीक्षा सञ्चालन गरेको कोरियाले सन् २०१२ मा भने परीक्षा लिएन।

त्यसपछि नियमित नेपाली श्रमिक भाषा परीक्षा सञ्चालन गरेर लैजाँदै आएको छ। ईपीएस लागू भएपछि ६३ हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। हाल करिब ४० हजारजति कार्यरत रहेको ईपीएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

अब ईपीएस भाषा परीक्षामा सहभागी हुनुपहिले बायोमेट्रिक परीक्षण पनि अनिवार्य गरिएको छ। यसका लागि हरेक परीक्षा सेन्टरमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिने निर्देशक खनालले बताए। भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको सीप परीक्षण गर्ने बेलामा पनि बायोमेट्रिक जाँच गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here