घातक रोग विरुद्ध जीवन बीमा कम्पनी, कुनको पोलिसी कस्तो ?

काठमाडौं, २६ फागुन । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

कूल १९ वटा जीवन बीमा कम्पनीहरुले करिब १८८ वटा बीमा पोलिसी बिक्री गर्दै आएको पाइएको छ । बीमा कम्पनीहरुले ३५ रोग विरुद्ध ५० लाखसम्मको बीमा सुबिधा दिँदै आएका छन् ।

घातक रोग बिरुद्ध सबैभन्दा धेरै पोलिसी बेच्ने ज्योति लाइफ इन्स्योरेन्स रहेको छ । ज्योतिले अहिलेसम्म अहिलेसम्मकै सर्वाधिक ३५ घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दै आइरहेको छ।

११ वटा घातक रोग विरुद्ध १० लाखसम्मको आर्थिक सुरक्षा दिदै आइरहेको इन्स्योरेन्सले त्यसलाई थप गरी ३५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आइरहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सले १५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको सुरक्षा प्रदान गर्दै आइरहेको छ।

एशियन लाइफ इन्स्योरेन्सले १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्दै आएको छ। यस्तै रिलायबल लाइफ इन्स्योरेन्सलेले १५ घातक रोग वापतको सुविधा सञ्चालनमा रहेको छ।

नेपाल लाइफ इन्स्योरेन्सले १८ रोग विरुद्ध ५० लाखसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ बीमा योजना संचालन गर्दै आइरहेको छ ।

युनियन लाइफ इन्स्योरेन्स १८ प्रकारका घातक रोगको उपचारार्थ सम्बन्धी बीमा सुविधा योजना सार्वजनिक गरेको छ।

आईएमई लाइफको पनि २१ घातक रोग विरुद्ध ५० लाखसम्मको एकमुष्ठ बीमा रकम प्राप्त गर्न सकिने योजना संचालनमा छ। सिटिजन लाइफ इन्स्योरेन्स २० घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्म रकम भुक्तानी गर्ने जनाएको छ।