कोरोनाको आशंकामा ४ सय ४१ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, २६ फागुन । कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म ४ सय ४१ नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कसैमा संक्रमण भेटिएको छैन ।

नेपालमा २०७६ माघ ९ गते चीनबाट फर्कि आएका एक नेपालीमा देखा परेपश्चात हालसम्म थप शङ्‌कास्पद ४ सय ४१ वटा नमुना प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नतिजामा कोभिड-१९ सङ्‌क्रमण नरहेको व्यहोरा सबैमा अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

माघ ९ गते चीनबाट फर्केका एक नेपालीमा कोरोना भाइरस देखिएको थियो। उनलाई आइसोलेनमा राखी उपचार गरिएको थियो। उनी अहिले स्वस्थ्य भएर घर फर्किसकेका छन्।

विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जनाएको छ।

‘छिमेकी मुलुकहरुसँग स्थलमार्गका ३७ नाकाहरुमा प्रदेश र स्थानीय तहसँग सहकार्यमा हेल्थ डेक्स स्थापना गरि नेपाल भित्रिने यात्रुको चेकजाँच सुरु गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

औषधि, औषधिजन्य सामग्री आदिको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी र तीव्र पारिएको जनाइएको छ। देशभित्रको उत्पादन क्षमतालाईसमेत बढाउने कार्यका लागि आवश्यक पहल गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानीमा देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here