सीमा समस्याबारे नेपालले गरेको वार्ता मिति भारतद्धारा अस्वीकार

काठमाडौं, ३० फागुन । सीमा समस्या समाधानको लागि भारत पछि हट्दै गएको छ । नेपालले पटक-पटक वार्ताको लागि पहल गर्दापनि भारतले पन्छिदै आएको छ ।

नेपालतर्फबाट दोस्रो पटक गरेको वार्ताको प्रस्ताव पनि भारतले अस्वीकार गरेको छ ।

शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत पठाएको मितिमा वार्ता गर्न भारतले असमर्थ रहेको जवाफ पठाएको जानाकारी दिए ।

हामी वार्ताको प्रतीक्षामा थियौ, परराष्ट्र सचिव र राजदूत हेरफेर हुँदा हामीले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको जवाफ आएको छ । अर्को मितिका लागि कूटनीतिक पहल गरिरहेका छौं बैरागीले भने ।’

कूटनीतिक नोटको जवाफमा दुई देशबीचको सीमा विवाद समाधान गर्न आफू तयार रहेको भारतीय पक्षले उल्लेख गरेको जानाकारी दिए ।

वार्ताको प्रस्ताव गर्दै मंसिर ७ मा नेपालले पठाएको पत्रमा वार्ताका लागि सम्भावित मिति र स्थान प्रस्ताव गरिएको थियो।

तर नेपाल सरकारले प्रस्ताव गरेको वार्ताका दुवै मिति टरिसकेपछि भारतले नेपालको पत्रको जवाफ फर्काएको स्रोतको दाबी छ ।

गत कात्तिक १६ गते भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो।

त्यसको सर्वत्र विरोध भएपछि नेपालको परराष्ट्र मन्त्रालयले कात्तिक २० मा एकतर्फी ढंगले गरिएको अन्तर्राष्ट्रिय सीमा हेरफेरको निर्णय नेपाललाई मान्य नहुने भन्दै वक्तव्य निकालेको थियो।

वक्तव्यमा समाधान कूटनीतिक माध्यमबाट हुनुपर्ने उल्लेख थियो। त्यसपछि कात्तिक २३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक डाकेर भारतले अतिक्रमण गरेको नेपाली भूमिका विषयमा छलफल गरेका थिए।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । वार्ताको प्रस्तावसहित पठाएको नेपालको पत्रलाई एक महिनापछि भारतले जवाफ दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here