‘कोरोनाविरुद्ध नेपालको पूर्वतयारी छ, सामूहिक रणनीति बनाऊँ’-प्रधानमन्त्री ओली

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका रूपमा फैलिएको कोरोना विरुद्ध लड्न नेपालको पूर्वतयारी रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार भएको सार्क राष्ट्रका प्रमुखबीचको भिडियो संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
महामारीबाट बच्न नेपालले अपनाएका सावधानीका उपायबारे जानकारी गराए।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न नेपाल तयार रहेको बताउँदै अब सार्क राष्ट्रबीच कोरोनालाई लिएर ठोस पहल हुनुपर्नेमा जोड दिए। ‘सार्कक्षेत्रको लागि एक ठोस र बलियो रणनीति बनाउन यसले मद्दत गर्दछु, उनले भने, ‘अब ढिलो नगरी सामूहिकरुपमा पहल थाल्नुपर्छ।’

‘हामीले अनअराइभल भिसालाई बन्द गरेका छौँ, स्थलगत आवागमन बन्द गरेका छौँ,’ उनले भने, ‘तेस्रो मुलुकबाट भिसा पाउन स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ।’

उनले भ्रमण वर्षका सबै गतिविधि रद्द गरेको बताउँदै नेपाली कामदारलाई श्रम स्वीकृति बन्द गरेको, सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेको तथा अस्पतालको क्षमता अभिवृद्धि गरेको जानकारी दिए।

अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था र कोरोनाको सङ्क्रमणलाई ध्यान दिएर अस्पताल र स्वास्थ्यकर्मीको क्षमता बढाउन लागिपरेको पनि ओलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here