अमेरिकी दूतावासद्धारा सम्पूर्ण भिसा प्रक्रिया रद्द

काठमाडौं, ३ चैत । नेपालका लागि अमेरिकी दूतावास काठमाडौंले सम्पूर्ण भिसा दिने प्रक्रिया रोकेको छ ।

कोरोना भाइरसको प्रकोपका कारणचैत ४ गते (मंगलबार) देखि लागू गरी दूतावासले डाइभर्सिटी भिसा ‘डिभी’ तथा गैर आप्रवासी भिसा दिने प्रक्रिया रोक्ने जानकारी दिएको हो ।

अमेरिकी दूतावास नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएको हो । दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

भिसा दिने प्रक्रिया रद्द भएपनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भिसा प्रक्रिया कहिलेदेखि सुरु हुने भन्ने दूतावासले स्पष्ट पारेको छैन ।

विज्ञप्तिमा जतिसक्दो चाँडो भिसा सेवा पुनः सञ्चालन हुने उल्लेख गरिएको छ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा निश्चित मापदण्डमा रहेर दुतावासले भिषा दिने जनाएको छ ।

अमेरिकाले यसअघि नै युरोप यात्रामा प्रतिबन्ध लगाइसकेको छ भने मुलुकभित्र आपतकाल घोषणा गरेको छ । कोरोना भाइरसका कारण अमेरिकामा ६९ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ८२ जनामा संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here