रुवेला-दादुरा विरुद्धको खोप ७० हजार बालबालिकालाई दिने महानगरको लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले रुवेला दादुरा खोप कार्यकर्ताका लागि अभिमुखीकरण शुरु गरेको छ । आजबाट शुरु भएर ३ दिन चल्ने कार्यक्रममा ८० जना खोप कार्यकर्ता सहभागी हुने महानगरले बताएको छ ।

अभिमुखीकरणमा खोप सम्बन्धि बिद्यमान अवस्था, परामर्श, खोप अभियानको आवश्यकता, खोप सेसन तयारी र सञ्चालन, खोपपश्चात् देखिने अबाञ्छित घटना (एईएफआइ -एडभर्स इभेन्टस् फलोइङ् इम्युनाइजेसन), जोखिम व्यवस्थापन लगायतका बिषय समावेश गरिएको महागरले बतायो ।

अभिमुखीकरण कार्यक्रममा महानगरका खोप अधिकृत सूर्य खड्का, जनस्वास्थ्य अधिकृत मञ्जु मास्के, बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का परामर्शदाता डा. भेषराज पोखरेल र डब्लुएचओका सर्भलेन्स मेडिकल अफिसर डा. सागर शाक्यको प्रस्तुति रहनेछ ।

चैत्र १९ गतेबाट शुरु हुने खोप कार्यक्रम महानगरका ३२ वडालाई ३ भागमा बाँडेर कार्यक्रम सञ्चालन हुने बताईएको छ ।

यसअन्तर्गत पहिलो सेसन १९ गतेदेखि २१ गतेसम्म वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा चल्नेछ । यसैगरी २२ गतेदेखि २४ गतेसम्म वडा १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० वडा गरी १३ वटा वडामा खोप कार्यक्रम चल्नेछ ।

अभियानको तेश्रो सेसन २५ गतेदेखि २७ गतेसम्म चल्नेछ । यसअवधिमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ गरी १२ वटा वडामा चलाइने महानगरले बताएको छ ।

यसअवधिमा छुटेका बालबालिका लागि २८ गते महानगरले सञ्चालन गरेको २७ वटा सहरी स्वास्थ्य क्लिनिकबाट खोप दिइनेछ । यस अवधिमा करीब ७० हजार बालबालिकालाई खोप दिने महानगरको लक्ष्य छ ।

रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिकालाई दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here