छोरी-बुहारी छात्रवृत्ति: मागभन्दा ७ गुणाबढी आवेदन

काठमाडौं, ५ चैत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका छोरी–बुहारीको शिक्षा प्राप्तीमा सहयोग गर्न छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।

छोरी तथा बुहारीहरू प्राविधिक शिक्षातर्फ आकर्षित गर्न घोषणा गरेको छात्रवृत्तिमा ७ सय २३ जनाको आवेदन परेको छ।

सुर्खेतबाट १ सय ३२ जना, दैलेखबाट १ सय २, जाजरकोट ५८, रुकुम पश्चिम ३६, सल्यान ७७, जुम्ला १ सय ४५, हुम्ला ६४, कालिकोट ४६, मुगु १६ र डोल्पाबाट ५१ जना छोरी-बुहारीले आवेदन दिएका छन्।

छात्रवृत्ति रकम विधाअनुसार २४ हजारदेखि १ लाख रुपैयाँसम्म दिइने निर्देशनालयले जनाएको छ।

प्रदेश सरकारले यस वर्षका लागि १ सय छोरी–बुहारीका लागि प्रमाणपत्र तथा ३ वर्षे डिप्लोमा अध्ययनका लागि ‘छोरी–बुहारी छात्रवृत्ति’ मा सहभागी हुन आह्वान गरेको थियो ।

३ वर्षे डिप्लोमा, दश जोड दुई वा प्रमाणपत्र तहमा व्यवसायिक तथा प्राविधिक शिक्षामा अध्ययन गर्ने छोरीबुहारीहरुको लागि छात्रवृत्ति दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्राविधिक शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले तीन वर्षे डिप्लोमा वा प्राविधिक प्रविणता प्रमाणपत्र तहमा छात्रवृत्ति दिइने मन्त्रालयले जनाएको छ।

कर्णालीका १० जिल्लाबाट १ सय जनाका लागि छात्रवृत्ति दिने गरी आवेदन आव्हान गरेपनि ७ सय २३ जनाले आवेदन दिएपछि निर्देशनालयले प्रदेशका प्रत्येक जिल्लाबाट १० जना छनोट गरी छात्रवृत्ति दिने तयारी थालेको छ ।

छात्रवृत्तिका लागि छनौट भएकालाई अध्ययन अवधिभर एक पटकमा १ लाख रुपैयाँ उपलब्ध गराइने छ। प्रतिस्पर्धाका आधारमा छनोट भएका विद्यार्थी (छोरी-बुहारी) लाई शिक्षा विकास निर्देशनालयले बैंक खाता खोल्न लगाएर छात्रवृत्ति वापतको रकम जम्मा गरिदिने छ।

तीन वर्षे डिप्लोमा, नर्सिङ, एचए, फार्मेसी, कविराज, ल्याव टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, वागवाणी, पशुविज्ञान, वन विज्ञान, इञ्जिनियरिङ, कम्प्युटर विज्ञान अध्ययनरत छोरी बुहारीलाई छात्रवृत्ति उपलब्ध गराइने शिक्षा विकास निर्देशनालयले जनाएको थियो ।

छात्रवृत्ति पाउन सरकारी विद्यालयबाट एसइई वा एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने, कर्णाली प्रदेशभित्रको वासिन्दा भएको प्रमाणित गर्न स्थानीय तहको सिफारिस हुनुपर्ने, भर्ना भई नियमित अध्ययन गरेको र यो वर्ष अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको विद्यालयको सिफारिस पेश गर्नुपर्ने मापदण्ड तोकिएको थियो ।

यो कार्यक्रम प्रदेश सरकारले अघिल्लो वर्ष पनि सञ्चालन गरेको थियो। यो कार्यक्रमअन्तर्गत गत वर्ष १५० जनालाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ। यसमा एक करोड ५० लाख रुपैयाँ छात्रवृत्तिस्वरुप प्रदेश सरकारको बजेट खर्च भएको छ।

यसैगरी यो वर्ष पनि कर्णाली प्रदेश सरकारले प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा जेहन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, कर्णाली प्रदेश स्थापनार्थ सहिदका सन्ततिलाई छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति प्रदान गर्न लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here