स्कुल र क्याम्पस बन्द,कोरोना प्रभावित मुलुकबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं, ५ चैत । सरकारले कोरोना प्रभावित मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।

सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरुसंगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो। सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ।