लकडाउनमा सरकारलाई साथ दिन आफ्ना सदस्यलाई उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं, ११ चैत । सरकारले चैत ११ बिहान ६ बजेदेखि घोषणा गरेको ८ दिने लकडाउनमा साथ दिन नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्य संघसंस्था तथा उद्योग प्रतिष्ठानहरुलाई अपिल गरेको छ ।

सोमबार राती अबेर एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहां कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न सदस्यहरुलाई आग्रह गरेको हो ।

विश्वलाईनै त्रसित बनाई रहेको कोरोनाभाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट भएको भोलि विहान ६ वजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि घर बाहिर निष्कन नपाउने लगायतका निर्णय उसले स्वागत गरेको छ ।

‘यस कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरू सहित सबैमा गम्भीर आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले मंगलबार बिहानदेखि औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजीक्षेत्रबाट सञ्चालिन अन्य उद्योग कल कारखानामा का मगर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने निर्देशन दिएको थियो ।

त्यसैगरी अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।

ऋभाव देखाइ मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनअनुसार नियन्त्रणमा लिने तथा सामग्री जफत गरी रोगको रोकथाम र उपचार कार्यमा उपयोग गर्ने पनि सरकारको घोषणामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here