विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै परराष्ट्र र श्रम मन्त्री, दूतावासलाई सहयोग गर्न निर्देशन

काठमाडौं, १२ चैत । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन् ।

मन्त्रीद्वयले ती मुलुकमा रहेका दूताबासका प्रमुखहरुहरुसँग त्यहाँ रहेका नेपालीहरुको अवस्था, कोभिड–१९ को प्रभावको बारेमा जानकारी लिएका छन् ।

त्यसैगरी दूताबासहरुले कोरोनाभाइरसको महामारीमा नेपाली नागरिकहरुलाई दिएको सेवा तथा सुविधाबारे पनि ज्ञवाली र यादवले विस्तृतमा जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रीहरुले सिंहदरबारबाटै मलेशिया, कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकास्थित नेपाली मिसनका प्रमुखसँग भिडियो संवाद गरेका हुन् ।

यसअघि मन्त्रीद्वयले खाडीक्षेत्र र अफ्रिकास्थित नेपाली राजदूत र नियोगप्रमुखहरुसँग कोरोनाभाइरसको प्रभाव, नेपाली श्रमिकहरुको अवस्था र नियोगहरुले गरिरहेका कामकहरुबारे जानकारी लिन मंगलबार भिडियो संवाद गरेका थिए ।

उनीहरुले नियोगहरुलाई सम्बन्धित मुलुकको सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्क, सहयोग र समन्वयका लागि निर्देशन दिएका थिए ।

मन्त्री ज्ञवालीले यस्तो अवस्थामा नआत्तिन र सम्बन्धित मुलुकको स्वास्थ्य प्रोटोकलको सम्मान गर्दै नेपाली नागरिकको सेवामा खट्न दूताबास र नियोगहरुलाई निर्देशन दिएका थिए ।

त्यसैगरी, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मंगलबार नै नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल सरकारले गरिरहेको हुँदा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुबाट सुरक्षा व्यवस्था मिलाई आफू रहेबसेको मुलुक छोड्नु पर्ने अवस्था आउन नदिन अनुरोध गर्ने निर्णय गरेको थियो ।

साथै, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आफू रहेको मुलुकमा सुरक्षित र संयमित रहन बस्न आह्वान गरेको थियो ।

विदेशस्थित नेपाली नियोगहरुले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि नियमित सूचना प्रवाह गरी नेपाल सरकारको निर्णय र चालेका कदमहरुबारे अवगत गराउने निर्णय पनि समतिले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here