चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

काठमाडौं, १२ चैत । कोरोना प्रभावित व्यवसायहरूले चैत मसान्तसम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ ।

अर्थमन्त्री संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैरबैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था गरेको हो ।

समितिका अनुसार संक्रमणको अवधि एकीन गर्न व्यवहारिक नभएका कारण कोरोना प्रभावित सबै बैंक तथ वित्तीय संस्थाले कोरोना प्रभावित व्यवसायलाई राहत स्वरुप उक्त निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले त्यस्ता व्यवसायहरुको पहिचान गरी यो सुविधा क-कसले पाउने भन्ने निर्क्योल गर्नेछ । यस्तो सुविधा गैरबैंकिङ वित्तीय संस्थाका ऋणीले पनि पाउनेछन् ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्युनतम् सेवाहरुलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले नगदरहित कारोबारलाई प्रोत्सान गर्न विद्युतीय भुक्तानी दूस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्युनतम् कायम गर्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here