कोरोना नियन्त्रण कोषमा दिन्छु भन्ने धेरै, जम्मा गर्ने कम, कुन बैंकले दिए कति ?

काठमाडौं, १४ चैत । सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा रकम जम्मा हुने क्रम तीव्र रुपमा चलिरहेको छ ।

निजि क्षेत्र तथा विभिन्न व्यक्तिहरुले सहायता रकम जम्मा गरिरहेका छन् । सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई समेत सहयोगको लागी आह्रान गरेको थियो ।

उपचार कोषमा रकम यति दिन्छु भनी घोषणा गर्ने धेरै भए पनि निकै कमले मात्र जम्मा गरेका छन्। स्रोतको अनुसार हालसम्म कोषमा तीनदिनमा जम्मा ११ करोड ७५ लाख रुपैयाँ जम्मा भएको छ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म केहि बैंकहरुले पनि सहायता रकम जम्मा गरेका छन् ।

हालसम्मा कोषमा एनसेलले १० करोड रुपैयाँ राखेको छ भने कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ जम्मा गरेको छ ।

कोषमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टले १० लाख रुपैयाँ, राधा माधव समिति नेपालले १५ लाख रुपैयाँ जम्मा गरेको छ भने बाँकी १५ लाख रुपैयाँ विभिन्न संस्था तथा व्यक्तिले जम्मा गरेका छन्।

ग्लोबल आइएमई बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सोही प्रयोजनार्थ बैंकलेस्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको कोषमा उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।