काठमाडौं, १४ चैत । कोरोना भाइरस संक्रमतिको संख्या विश्वमा सबैभन्दा बढी अमेरिकामा पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन्।
बिहीबार एकैदिन अमेरिकामा करिब १७ हजार नयाँ बिरामी थपिएका छन् ।
अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १ हजार २ सय ९० जनाको मृत्यु भएको छ । अमेरिका विश्वमा नै कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भएको मुलुक बनेको छ ।
त्यसमध्येपनि न्युयोर्क राज्य र त्यसमा पनि न्युयोर्क सिटी कोरोना संक्रमणको नयाँ इपीसेन्टर बनेको छ ।
यसो हुुनुका विभिन्न कारणहरु छन् । न्युयोर्क सिटी अमेरिकाको सबैभन्दा घनत्व भएको र ठूलो सिटी हो । घनत्व बढी भएको क्षेत्रमा कोरोना भाइरसको संक्रमण छिटो फैलिने गरेको छ ।
न्युयोर्क सिटीमा औषतमा एक बर्गमाइल क्षेत्रमा २७ हजारको बसोबास रहेको छ । जुन शिकागो र फिलाडेल्फियाको भन्दा दोब्बर तथा लस एन्जलसको भन्दा तेब्बर हो ।
दिनभरजसो नै न्युयोर्कबासीहरु ट्रेनभित्र प्याक हुने गर्छन् । बाटोमा हिड्दा एकअर्कासँग छोइने, ठोक्किने र बार तथा रेष्टुरेण्टमा घुँडा जुध्ने न्युयोर्कका लागि सामान्य हो । न्युयोर्कका ५ वटै बोरोमा सार्वजनिक यातायात भएकाले अधिकांशले निजी कारहरु किन्दैनन् , जसका कारण एकअर्कासँग संसर्ग सहज बन्छ ।
८ मिलियन भन्दा धेरै जनसंख्या भएको न्युयोर्क सिटी मुलुककै सबैभन्दा धेरै जनसंख्या भएको सिटी हो । न्युयोर्कमा कोरोना संक्रमितको संख्या धेरै हुनु ठूलो सिटीको प्रतिबिम्ब पनि हो ।
न्युयोर्कमा धेरै संक्रमित भेटिनुको कारण न्युयोर्कले आक्रमक रुपमा संक्रमितहरुको परीक्षण गरिरहेको छ । न्युयोर्कले कोरोनाको परीक्षणका लागि विशेष कदम चालेको छ ।
अस्पताल, ल्याब र ड्राइभ थु्र क्षेत्रहरुमा कोरोनाको परीक्षणको सुविधा दिइएको छ । मार्च १३ मामात्र न्युयोर्कले २८ वटा सार्वजनिक र निजी ल्याबहरुलाई कोरोना परीक्षणको अनुमति दिएको थियो । यस्तो कदम चाल्ने न्युयोर्क पहिलो राज्य हो ।