मधुमेह, मुटु र फोक्सोका दीर्घरोगीका लागि कोरोनाभाइरस झनै खतरनाक

काठमाडौं, १९ चैत । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मधुमेह, मुटु तथा फोक्सोसम्बन्धी समस्या र अन्य दीर्घरोग लागेका व्यक्तिहरुमा कोरोनाभाइरसको आक्रमण छिटो र कडा हुने बताएको छ ।

त्यस्ता व्यक्तिहरुलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने संभावना धेरै हुने पनि उसले जानकारी दिएको छ ।

अमेरिकामा कोरोनाभाइरसको महामारी फैलिएपछि केन्द्रले गरेको तथ्यांक विश्लेषणले यसअघि कुनै प्रकारको स्वास्थ्य समस्यामा रहेका व्यक्तिहरुमा कोभिड–१९ को आक्रमण सहजै हुने र कडा असर देखिने बताएको हो ।

कोरोनाभाइरसले खासगरी वृद्धवृद्धामा बढी असर देखिने र घातक हुने अहिलेसम्मको विश्लेषणलाई खण्डन गर्दै उसले दीर्घकालीन स्वास्थ समस्या भएका कुनै पनि व्यक्तिमा यसको गम्भीर असर पर्ने निश्कर्ष निकालेको छ ।

दीर्घकालीन समस्या भनेका कलेजो तथा मलद्धारसम्बन्धी रोग, स्नायुसम्बन्धी तथा मानसिक समस्या, गर्भावस्था, धुमपान आदि हुन् ।

यो निश्कर्ष प्रारम्भिक अध्ययनको नतिजा भएको र यसमा उमेर, लिंग तथा आयस्तरको फरकलाई नहेरिएको सीडीसीले जनाएको छ । यद्यपि यसले स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तिहरुमा कोरोनाभाइरसको प्रभाव कस्तो पर्छ भन्ने बारेमा एउटा जानकारी दिएको उसको भनाइ छ ।

मुलुकभरका ७ हजार भन्दा बढी कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुको अध्ययन तथा चिकित्सकहरुको अभिलेखको अध्ययनबाट सीडीसी यस्तो निश्कर्षमा पुगेको हो ।

सीडीसीका अनुसार आईसीयूमा भर्ना गर्नु पर्ने विरामीहरुको ७८ प्रतिशतलाई यसअघि कुनै एक दीर्घ स्वास्थ्य समस्या रहेको थियो । अस्पताल भर्ना हुने बिरामीहरुमध्ये करीब ७१ प्रतिशतमा यसअघि स्वास्थ्य समस्या रहेको थियो भने अस्पताल भर्ना गरिएका २७ प्रतिशतमा मात्र पुरानो समस्या थिएन ।

अध्ययनमा सहभागी विरामीमध्ये करीब ११ प्रतिशतलाई मधुमेश थियो भने ९ प्रतिशतलाई फोक्सोसम्बन्धी दीर्घ समस्या र ९ प्रतिशतलाई नै मुटुसम्बन्धी समस्या थियो ।

अध्ययनमा समावेश ७ हजार १ सय ६० दीर्घरोग भएका बिरामीमध्ये १ सय ८४ जनाको मृत्यु भइसकेको छ भने १ सय ७३ को स्थिति गम्भीर छ । १९ वर्ष मुनिका कुनै पनि विरामी कोरानाभाइरसका कारणले मरेका छैनन् ।

कोभिड–१९ एक स्वास्थ्यसम्बन्धी समस्या हो । यसले पहिला माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ र विस्तारै तल झरेर फोक्सोमा पुगी न्यूमोनियाको लक्षण देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here