स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध, अर्को टेण्डर आव्हान गरिने

काठमाडौं, १९ चैत । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग गरिएको सम्झौता अनुसार आपूर्तिकर्ताले ल्याउन नसकेको र विवादित भएको भन्दै खरिद सम्झौता रद्ध गरेको जानाकारी दिए ।

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।

उक्त कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै सम्झौता रद्दसँगै ओम्नी समूहले राखेको ५ करोड रुपैयाँ धरौटीसमेत जफत गरिएको बताए।

फागुन ३० मा टेन्डर आह्वान गरेर खरिदका लागि भनिएपनि कसैले टेन्डर नभरेपछि उच्चस्तरीय समितिको निर्णय अनुसार फास्ट ट्रयाकबाट खरिद प्रक्रिया अघि बढाउने क्रममा ओम्नी सहितका १५ वटा कम्पनीले टेन्डर मिट गरेको जानकारी दिँदै उनले ओम्नीले पनि समयमा सामान नदिएपछि ओम्नीसँगको खरिद प्रक्रिया रद्द गरिएको बताए ।

आपूर्तिको जिम्मा पाएको सो कम्पनीले पहिलो किस्ता अनुसार सोमबार पनि पूरा सामान ल्याउन नसकेको र बिहीवार आउन पर्ने दोश्रो लटपनि ल्याउन नसक्ने देखेपछि रद्द गरिएको उनको दावी छ ।

तीनदिनभित्र आउने प्रस्तावमध्येमा सबैभन्दा सस्तोमा सामग्री दिने प्रस्ताव गर्ने कम्पनीलाई सामान खरिदका लागि छनाेट गरिने उनले जानकारी दिए। श्रेष्ठले सरकारले सार्वजनिक गर्ने सूचना अनुसार प्रस्ताव पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here