टीआइएमा यात्रु अनबोर्डपछि ढोका बन्द गरिसकेको जहाजको उडान नरोकिने

काठमाडौं, २ बैशाख । त्रिभुवन विमानस्थलमा अहिले धावनमार्ग पुनर्निर्माणको काम चलिरहेको छ । जसले गर्दा वायुसेवा कम्पनीहरुको उडान अवतरण प्रभावित बनेको छ । त्यति मात्र होइन, उडान व्यवस्थापनमा उचित प्रवन्ध मिलाउन नसक्दा कहिले यात्रु जहाजमा चढिसकेका जहाज पनि उड्न रोकिएको छ भने कतिपय जहाज नोटाम जारी भई धावनमार्ग बन्द भइसकेको अवस्थामा पनि उडान अनुमति दिइएको छ । यसबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापन आलोचित भइरहेको छ ।

तर, अब भने सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल व्यवस्थालाई सहज गरिदिएको छ । अब यात्रु अनबोर्ड गरिसकेर ढोका समेत लगाइसकेका जहाजलाई सकेसम्म उडाउने प्रवन्ध मिलाउन सरकारले सिफारिस गरेको छ ।

गत चैत १९ मा काठमाडौंबाट दुवई तर्फ साँझ ९ः१५ मा उड्नु पर्ने जहाज ९ः५५ सम्म पनि उड्न सकेन । त्यसपछि त्रिभुवन विमानस्थलले धावनमार्ग बन्द गरि उक्त जहाजको उडान रद्द गरिदियो । तर जहाजमा यात्रु थिए । ति यात्रु जहाज भित्रै बस्नु पर्यो । त्यसपछि मन्त्रालयले यस सम्बन्धमा छानविन गर्न समिति गठन गरेको थियो ।

उक्त समितिले टावरको निर्देशन पछि यात्रु अनबोर्ड गरिसकेका अन्तरराष्ट्रिय उडानका जहाजलाई उपयुक्त समयमा काममा प्रतिकुल असर नपर्ने गरी सम्भव भएसम्म उडाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । नोटाम जारी भइसकेपछि उडान सम्भव नभएको समय अगाडी उडानको तयारी नै नगर्ने व्यवस्थाका लागि पनि समितिले सुझाव दिएको छ ।

यस सम्बन्धमा वायुसेवा कम्पनीले पनि विमानस्थल व्यवस्थापनसँगको समन्वयमा पूर्वनिर्णय लिनुपर्ने सुझाव समितिको छ । संस्कृति पर्यटन मन्त्रालयले सहसचिव बुद्धिकृष्ण लामिछानेको संयोजकत्वमा समिति गठन गरि छानविन गरेो थियो ।

समितिले नेपाल वायुसेवा निगमको जहाज रोकिएको सम्बन्धमा विभिन्न निकायका ६ जना कर्मचारीलाई समेत कारवाहीको सिफारिस गरेको छ ।

विमानस्थलको टावरमा रहेका दुई जना कर्मचारी, निगमको उडान रद्द भइसकेपछि पनि यात्रुको उचित व्यवस्थापन गर्न नसक्ने निगमका दुई कर्मचारी र समयमै जहाज ह्यांगरबाट पार्किङ बेमा जहाज ल्याउने सन्दर्भमा कमजोरी गर्ने निगमका दुई कर्मचारीलाई पनि कारवाहीको सिफारिस गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here