बुधबार पनि नेपालमा भेटिएनन् कोरोनाका संक्रमित, ११ सय ३३ जनाको परीक्षण

काठमाडौं, १९ चैत । नेपालमा कोरोना भाइरसको परीक्षण गराउनेको संख्या बुधबारसम्म ११ सय ३३ पुगेको छ ।

देशभर यसको शंका गरिएका ९९ बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी अपडेटका लागि दैनिक गर्ने लाइभ कार्यक्रमअन्तर्गत बुधबार दिउँसो प्रवक्ता डा। विकास देवकोटाले बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

बुधबार पनि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित भेटिएनन्। पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ। उक्त परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म पाँचजना मात्र कोरोना संक्रमित भेटिएका छन्। पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ। उपचारमा रहेकाहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको डा देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार पोखरामा पनि कोरोना परीक्षण सुरु भएको छ। त्यहाँ अहिले ४ नमुना परीक्षण क्रममा रहेको उनले जानकारी दिए।

यसैगरी चार/पाँच दिनदेखि नै कोरोना प्रयोगशाला सञ्चालन गरिएको धरानमा १२ नमुना परीक्षण भइरहेको छ।

हेटौंडामा पनि प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्था भइसकेकाले अहिले साँझ नै कोरोना परीक्षण थालिने प्रवक्ता देवकोटाले जानकारी दिए।

यसैगरी सुर्खेत, धनगढी, बुटवल, जनकपुरमा पनि आजै वा भोलि बिहीबार कोरोना परीक्षण सुरु गरिने उनले लाइभ कार्यक्रममा बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here